DFID को सहयोग / MOTT MacDonald को व्यवस्थापनमा नेपाल सहभागीमूलक कार्य समूह (नेपान), सिविएम इन्टरनेशनल, सप्रोस नेपाल र सामुदायिक विकास केन्द्र, नुवाकोटको सहकार्यमा सञ्चालित सम्बोधन परियोजनाअन्तर्गत नुवाकोट जिल्लाका भूकम्प प्रभावित ३ गाउँपालिकाहरु शिवपुरी, तादी र दुप्चेश्वरका जोखिमयुक्त समूहमध्ये ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला, अति विपन्न घरपरिवार र भूकम्पको कारणले विस्थापित घरपरिवारलक्षित गतिविधिहरु सञ्चालन भइरहेको छ । जसमध्ये केही मुख्य गतिविधिहरूलाई देहायबमोजिम समेटिएको छ ।

१. सामाजिक सुरक्षाको विषयमा वडास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न :
परियोजनाको कार्यक्षेत्रअन्तर्गत शिवपुरी गाउँपालिकाका ७ वटा वडाहरुमा (वार्ड नम्वर १, २, ३, ४, ५, ६ र ७) मा नेपाल सरकारले व्यवस्था गरेका विभिन्न सामाजिक सेवा तथा सुविधाको बारेमा एकदिने वडास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । सो कार्यक्रममा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला, दलितजस्ता सीमान्तकृत समुदायको हकमा भएका नीतिगत व्यवस्थाको बारेमा र सोही गाउँपालिकाबाट उक्त समुदायलाई प्रदान गरिएका सेवा सुविधाहरुको बारेमा छलफल गरिएको थियो । परियोजनाअन्तर्गत बनेका समावेशी समूहहरुका प्रतिनिधिहरुलाई दिइएको उक्त अभिमुखीकरण कार्यक्रममा अपाङ्गता भएका व्यक्तिको संख्या ४१, ज्येष्ठ नागरिकको संख्या ७, एकल महिलाको संख्या २३ र अति विपन्न तथा गरिव घरपरिवारको संख्या २८ र वडा प्रमुख, सचिव, कार्यालय सहायकको संख्या १३ गरी जम्मा ११२ जनाको सक्रिय सहभागिता रहेको थियो । सम्बोधन परियोजनाले निर्माण गरेको “अभिमुखीकरण कार्यक्रम सञ्चालनका लागि निर्देशिका २०७६” अनुसार सामाजिक सुरक्षा तथा अन्य विषयवस्तुमा सहभागी, वडा कार्यालय र परियोजनाका प्रतिनिधिवीच छलफल भएको थियो । साथै, परियोजनाका प्राविधिकहरुले सेवाग्राहीका समस्याहरुलाई स्थलगत रुपमा गई समाधान गर्नुभएको थियो ।

२. निरन्तर प्राविधिक सहयोग :
सम्बोधन परियोजनाले सहयोग गरेका विभिन्न परम्परागत तथा आधुनिक व्यवसायहरुलाई यो अवधिमा पनि निरन्तर प्राविधिक सहयोग प्रदान गर्दै आइएको छ । जसमध्ये ७ वटा व्यावसायिक कुखुरापालनको लागि आवश्यक सहयोगसहित निरन्तर प्राविधिक सहयोग प्रदान गरिएको छ । त्यसैगरी, व्यावसायिक योजना छनोटको पहिलो चरणमा निर्माण भएका १० वटा प्लाष्टिक टनेल हाउसमा गरिने व्यावसायिक तरकारी खेती प्रणालीबारे परियोजना प्राविधिकहरुले निरन्तर सहयोग गर्दै आएका छन् ।

३. परम्परागत व्यवसाय सुधारका लागि सहयोग :
परियोजनाले कार्यक्षेत्रभित्रका लाभग्राहीको लागि परम्परागत व्यवसायलाई सुधार गर्दै जीविकोपार्जनको लागि महत्वपूर्ण आधार तयार पारेको छ । जसको माध्यमबाट उनीहरुको जीवनमा सकारात्मक प्रभाव पर्नुका साथै आर्थिक स्थितिमा सुधार भएको छ । विभिन्न समुदायका ९ जना लाई सिलाई मेशिन, इन्टरलक मेशिन, वेल्डिङ्ग मेशिन, आरनको लागि हावा दिने मेशिन आदि प्रदान गरिएको छ ।

४. व्यावसायिक कुखुरापालन र बजारीकरणमा सहजीकरण :
परियोजनाले व्यावसायिक कुखुरापालन गरेका कृषकलाई बजारीकरण सीप र तौरतरिकाको बारेमा जानकारी गराउँदै आएको छ । विभिन्न पर्वहरुलाई लक्षित गर्दै उत्पादनमा ध्यान दिएमा बिक्रीको लागि समस्या नहुने र मौसमअनुसार उत्पादन गर्नुका साथै नोक्सानीबाट बच्नको लागि गरिनुपर्ने पूर्वतयारीको बारेमा पनि किसानहरूलाई परियोजनाले जानकारी प्रदान गर्दै आएको छ ।

५. सम्बन्धित गाउँपालिकामा कृषक समूह दर्ता :
परियोजनाअन्तर्गत बनेका सबै समावेशी समूह सम्वन्धित गाउँपालिकामा समावेशी कृषक समूहको रुपमा दर्ता भएका छन् । शिवपुरी गाउँपालिकामा ८, दुप्चेश्वर गाउँपालिकामा ७ र तादी गाउँपालिकामा ६ गरी २१ वटा समूह हालसम्म दर्ता भएका छन् । स्थानीय सरकारबाट प्रदान गरिने विभिन्न सेवा सुविधा प्राप्त गर्न सहज हुने र विभिन्न योजना निर्माणदेखि कार्यान्वयन प्रक्रियामा सक्रिय सहभागी हुन सजिलो हुने भएकोले कृषक समूह दर्ता गर्न सहयोग गरिएको छ ।