DFID को सहयोग / MOTT MacDonald को व्यवस्थापनमा नेपाल सहभागीमूलक कार्य समूह (नेपान), सिविएम इन्टरनेशनल, सप्रोस नेपाल र सामुदायिक विकास केन्द्र, नुवाकोटको सहकार्यमा सञ्चालित सम्बोधन परियोजनाअन्तर्गत नुवाकोट जिल्लाका भूकम्प प्रभावित ३ गाउँपालिकाहरु शिवपुरी, तादी र दुप्चेश्वरका जोखिमयुक्त समूहमध्ये ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला, अति विपन्न घरपरिवार र भूकम्पको कारणले विस्थापित घरपरिवारलक्षित गतिविधिहरु सञ्चालन भइरहेको छ । जसमध्ये केही मुख्य गतिविधिहरूलाई देहायबमोजिम समेटिएको छ ।

तादी गाउँपालिका

सम्बोधन परियोजना अन्तर्गत नुवाकोट जिल्लाको तादी गाउँपालिकामा परियोजनाका प्राविधिकहरुबाट नियमित रुपमा प्राविधिक सहयोग हुँदै आइरहेको छ । ७ वटा वडा रहेको उक्त गाउँपालिकामा २०७६ कात्र्तिक महिना भित्र सोही गाउँपालिका वार्ड न ६ का टोप वहादुर पौडेल र वार्ड नम्वर ४ का काजीमान तामाङ्गलाई प्लाष्टिक टनेल प्रदान गरिएको छ । उक्त टनेलमा वेमौसमी तरकारी खेति गर्नुका साथै आधुनिक र व्यवसायीक तरिकाले खेति गर्न सकिने कृषि प्राविधिक लाक्पा थापाले जनाउनुभएको छ । वार्ड नम्वर ३, प्रभु डाँडाका एकल महिला मश्राङ्गि तामाङ्ग र विमला परियारले बाख्राको आधुनिक खोर बनाई परम्परागत रुपमा गरिदै आएको बाख्रापालनलाई अझ व्यवस्थित गर्ने योजना बनाउनु भएको कारण परियोजनाले खोरको लागि चाहिने आवश्यक सामाग्रीहरु हस्तान्तरण गरी उनीहरुको जीविकोपार्जनमा सहयोग गरेको छ ।

त्यसैगरी, वार्ड नम्वर ५, नर्जा मण्डपकी मञ्जु ओझा र सावित्री अधिकारी अपाङ्गता भएका व्यक्ति भएको कारण हिडडुलमा समस्या रहेको छ । वैशाखीको माध्यमबाट उनीहरुलाई हिडडुल गर्न सहज हुने भएको हुँदा सम्बोधन परियोजनाले आवश्यक जाँच गरि वैशाखी प्रदान गरेको छ । साथै, उत्पादन भएका टमाटरलाई बजारसम्म ढुवानी गर्नको लागि ४ जनालाई क्रेट प्रदान गरेको छ । कमजोर आर्थिक अवस्थाको कारण सोही गाउँपालिकाकि निर्मला नेपालीलाइ सिलाई वुनाई सम्बन्धी ज्ञान भएतापनि राम्रो मेशिनको अभावमा व्यवसायलाई राम्रोसँग अगाडि बढाउन नसकेको कारण परियोजनाले सिलाई मेशिन प्रदान गरेको छ । साथै, समावेशी समुहका सवै सदस्यहरुको लागि प्याजको वेर्ना वितरण गरिएको छ ।

दुप्चेश्वर गाउँपालिका

सम्वोधन परियोजनाको दातृ निकायको रुपमा रहेको DFID का प्रतिनिधिहरुले दुप्चेश्वर गाउँपालिकामा परियोजनाका विभिन्न गतिविधिको निरिक्षण गरेका थिए । कात्र्तिक महिनाको २६ गते सोही गाउँपालिका वार्ड नम्वर ३ गतारका कैली सुनारको आवास पुनर्निमाणको लागि गरिएको सहयोगको निरिक्षण गर्नुका साथै सोही वडाका श्याम वि.क.को बँगुरपालन, कृष्ण वि.क.को परम्परागत आरन व्यवसायमा लाई आधुनिक र व्यवसायिक बनाउन गरिएको सहयोग र सोही वडा कल्लेरीका अपाङ्गता तथा ज्येष्ठ नागरिक कान्छा तामाङ्गको टनेल प्रविधिमा आधारित तरकारी खेतिको निरिक्षण गरिएको थियो ।
साथै, कात्र्तिक महिना भित्र सोही गाउँपालिकाको वार्ड नम्वर ३ कल्लेरी र ४ जिम्वाङ्ग मा रहेका क्रमशः श्याम वि.क., रामकृष्ण कामी र कृष्ण वहादुर वि.क.को परम्परागत रुपमा रहेको आरन व्यवसायलाई प्रविधिमा आधारित मेशिन प्रदान गरी व्यवसायिक बनाइएको छ । त्यसैगरी, सुनिल नेपाली (अपाङ्गता भएको व्यक्ति), हस्त वहादुर नेपाली (विपन्न घरपरिवार), रामकृष्ण दर्जी (अपाङ्गता भएको व्यक्ति) र हरि वहादुर नेपाली (विपन्न घरपरिवार)को परम्परागत सिलाई पेशालाई प्रविधिमा आधारित सिलाई मेशिन प्रदान गरीएको छ । दुप्चेश्वर गाउँपालिका वार्ड नम्वर ३ का रुपमाया तामाङ्ग र आकृति तामाङ्गलाई सिलाई मेशिन प्रदान गरी आर्थिक उपार्जनमा सहयोग हुने विश्वास गरिएको छ ।

शिवपुरी गाउँपालिका

सम्बोधन परियोजनाको लाभान्वित समूहमा पर्नु भएका शिवपुरी गाउँपालिका वार्ड नम्वर ५ शिक्रेका कान्छालाल तामाङ्ग र विरवहादुर तामाङ्गलाई टनेल प्रविधिमा आधारित टमाटर (गोलभेडा) खेति शुरुवात गरिएको छ । त्यसैगरी, समुन्द्रादेवी वस्ने ज्येष्ठ नागरिक झलक बहादुर थापालाई पनि सोही प्रविधिमा आधारित गोलभेडा खेतीको लागि सहयोग प्रदान गरिएको छ । शिवपुरी गाउँपालिका वार्ड नम्वर ७ र ८ वस्ने एकल महिला क्रमशः सिता मिजार बस्नेत र गँगामाया उप्रेतिलाई पनि प्लाष्टिक टनेल निर्माण गरिएको छ ।

त्यसैगरी, यसवेला उत्पादन भएको कोदोको मूल विउ भण्डारण गर्नको लागि विशेष खालको बोरा प्रदान गरिएको छ । प्लाष्टिक टनेलबाट उत्पादन भएका टमाटरको सुरक्षित भण्डारण र वजारीकरणको सहजताको लागि क्रेट  प्रदान गरिएको छ भने तरकारी उत्पादनको लागि नयाँ ९ वटा योजनाहरुको छनोट गरिएको छ ।