अमेरिकाको नर्थ क्यारोलिना राज्य (अप्पालाचियन स्टेट युनिभर्सिटी) का प्रोफेसर डा. एड रोजेनबर्गको लामो प्राज्ञिक अनुभव पनि ज्येष्ठ नागरिक सवालमा भएकोले उहाँले आफ्ना अनुभवलाइ नेपालको सन्दर्भमा जोड्नु भएको थियो । ज्येष्ठ नागरिकका सवालमा नेपान एक ‘पायोनियर’ संस्था मानिन्छ नेपालमा । नेपान सदस्यमा आधारित एक स्वयम्सेवी संस्था भन्ने थाहा पाएकोले उहाँले पनि नेपानको अनुरोध स्वीकारी स्वयम्सेवी प्रस्तुतिका लागि आफ्नो व्यस्तताबाट अलिकति समय निकाल्नुभयो ।

करिब सवा घण्टाको प्रस्तुति तथा छलफल कार्यक्रममा प्रोफेसर रोजेनबर्गले ‘नेपालमा ज्येष्ठ नागरिकको वर्तमान अवस्था र भविष्यका अवसर तथा चुनौतीहरू’ विषयक एक अंग्रेजी कार्यपत्र (पावरप्वाइन्ट) प्रस्तुत गर्नुभयो । उहाँले विश्वका विभिन्न देशको तुलनात्मक अध्ययन गर्ने क्रममा नेपालको पनि विशेष अध्ययन गर्नुभएको रहेछ । उहाँको प्रस्तुति संक्षिप्त भए पनि निकै गहन कुरा र तथ्यांकहरू प्राज्ञिक हिसाबले विश्लेषण गरी समेटिएका थिए । सन् २०००, सन् २०२५ र सन् २०५०, अर्थात् विगत २० वर्ष र आउँदो ३० वर्ष गरी ५० वर्षको ज्येष्ठ नागरिक संख्याको बढोत्तरी प्रवृत्ति (ट्रेन्ड) उक्त प्रस्तुतिमा केलाइएको थियो । ज्येष्ठ नागरिकको संख्या विश्वभर नै बढ्दैछ, नेपाल पनि अछुतो छैन, तर बढ्दो बुढ्यौली उमेरको जनसांख्यिक, स्वास्थ्य, खानपान, सामाजिक सुरक्षा तथा सम्मान, आय व्यवस्थापन र रोजगारीजस्ता अनेक सवालसँग जुध्न नेपाल कति तयार छ त ? यो नै मूल सार थियो उहाँको प्रस्तुतिको ।

नेपालमा हाल करिब ९ प्रतिशत रहेको छ ६० वर्षमाथिका ज्येष्ठ नागरिकको जनसंख्या, तर यो तीब्रतम रुपले बढिरहेको छ र सन् २०५० सम्ममा २० देखि २५ प्रतिशत पुग्ने प्रक्षेपण छ । यो बढ्दो जनसंख्या आर्थिक रुपले क्रियाशील हुन सकेन भने युवापुस्ताका लागि ठूलो चुनौती हुनेछ । देशले सामाजिक सुरक्षा (ज्येष्ठ नागरिक भत्ता) मा ठूलो रकम खर्च गर्नुपर्ने अवस्था आउनेछ । स्वास्थ्यसेवाको ग्यारेन्टी चुनौतीपूर्ण बन्नेछ । परिवारमा बालबच्चा कम जन्माउने चलन, युवाहरू कामको खोजीमा सहर पस्ने वा विदेशतिर लाग्ने चलन, स्वास्थ्यसेवाको गुणस्तर अभिवृद्धिले गर्दा औसत आयु बढ्दै गएको अवस्था आदिजस्ता कारणले बुढ्यौली जनसंख्या सोचेभन्दा छिटोछिटो बढ्दै छ । केटाकेटी र युवाको संख्या भने विगतको तुलनामा कम हुँदैछ । भविष्यमा अझ कम हुनेछ । यस्तो अवस्थामा ‘बुढ्यौली संसार’ बढ्न गई अनेक चुनौती आउन सक्छन् । के राज्य यस्ता चुनौतीहरू सामना गर्न तयार हुँदैछ त ? उहाँका प्रस्तुतिले ध्यानाकर्षण गरेका चिन्तनीय र मननीय पक्षहरू थिए ।

उहाँले ज्येष्ठ नागरिकसम्बन्धी अमेरिकाका विविध अनुभवहरू पनि सुनाउनुभएको थियो । ‘बाहिरी दुनियाँमा हल्ला गरेजस्तो अमेरिकाका सबै बुढाबुढी बृद्धाश्रममा बस्ने कुरा सत्य होइन । करिब २० प्रतिशत बुढाबुढीमात्र वृद्धाश्रममा बस्छन्, बाँकी ८० प्रतिशत घरपरिवारमा नै बस्छन्’, उहाँले थप्नुभयो, ‘विकसित देशहरूको भन्दा नेपालको सामाजिक रहनसहन र ज्येष्ठ नागरिकप्रति गरिने व्यवहार पनि राम्रो छ, तर आधुनिकता र विश्वव्यापीकरणले नेपालजस्ता देशमा पनि संरचना र संस्कार बदलिँदैछ, जुन चुनौतीपूर्ण छ, अहिलेदेखि नै ख्याल गर्नुपर्छ ।’

उहाँको प्रस्तुतिउपर जिज्ञासा राख्ने र आआफ्ना अनुभव पनि थप्ने काम भएको थियो झविन्द्र भण्डारी, चेतनाथ कणेल, डा. होमनाथ चालिसे, महेश शर्मा, डा. गिरिप्रसाद पन्थी तथा चन्द्र सर्तुङ्गे मगरबाट ।

प्रोफेसर डा. रोजेनवर्गलाई नेपानघरमा फूलमाला लगाई स्वागत गरिएको थियो । हार्दिक धन्यवादका साथ नेपानका केही विशेष प्रकाशनहरू पनि अध्यक्ष झविन्द्र भण्डारीबाट प्रदान गरिएको थियो । कार्यक्रमको अन्तमा प्रोफसर रोजेनबर्गले भन्नुभयोे, ‘आज मैले पनि नेपानबाट केही सिक्ने मौका पाएँ । म धेरै खुसी छु । पछिसम्म पनि हाम्रो सम्पर्क रहिरहोस् । मिल्छ भने म नेपानको सदस्य बन्न पनि इच्छुक छु ।’

शब्द संयोजन : चेतनाथ कणेल “हरित”