Warning: Trying to access array offset on false in /home/u404765524/domains/nepan.org.np/public_html/wp-content/themes/Divi/includes/builder/functions.php on line 2566
१३५औ मासिक अन्तर्क्रियात्मक छलफल सम्पन्न | NEPAN

नेपानले मासिक सिकाइ श्रृंखलाअन्तर्गत १३५औँ ‘सेयरिङ’ सम्पन्न गरेको छ । डा. गिरिप्रसाद पन्थी ले बैतडी जिल्लामा आफ्नो पिएचडी अध्ययनअन्तर्गत गरेको अनुसन्धानका मूल नतिजाहरू प्रस्तुत गरी ‘नेपालमा यौन तथा प्रजनन स्वास्थ्यसँग सम्बन्धित ज्ञान तथा आनीबानी सुधारमा स्थानीय सामुदायिक संस्था (सीबीआई) को योगदान’को चर्चा गर्नुभयो । किशोर–किशोरी समूह, युवा सञ्जाल, आमा समूह, वडा नागरिक मञ्च तथा नागरिक सचेतना केन्द्रजस्ता समुदायमा आधारित नागरिक संस्थाले चेतना अभिवृद्धि एवम् सकारात्मक व्यवहार परिवर्तनमा ठूलो भूमिका निभाउन सक्ने भएकोले तिनको संस्थागत विकास, क्षमता अभिवृद्धि एवम् कानुनी हैसियत बढाउँदै जानुपर्ने र स्थानीय शासन/सुशासनलाई थप लोकतान्त्रिक, पारदर्शी, सहभागीमूलक एवम् जवाफदेही बनाउनुपर्ने कुरामा जोड दिनुभयो । संघीय शासन पद्धतिमा समेत ती संस्थाको महत्व अझ बढेको छ भन्दै हरेक पालिकाले यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

‘नेपानजस्ता संस्थाले नागरिक सहभागिता र सशक्तिकरणमा अझ जोड दिई वकालती भूमिका बढाउनुपर्छ, क्षमता विकासका प्याकेज तयार पार्नुपर्छ र भुइँतहका जनताको आवाज मुखरित हुने क्रियाकलापका विशेष जोड दिनुपर्छ’, डा. पन्थीको सुझाव थियो । कार्यक्रममा करिब डेढ दर्जन विकासकर्मी तथा विषयविज्ञहरूको सहभागिता रहेको थियो ।

अध्यक्ष झविन्द्र भण्डारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको संयोजन नेपानका कार्यकारी संयोजक चन्द्र सर्तुङ्गे मगरले गर्नुभएको थियो ।

कार्यक्रममा चेतनाथ कणेल, ब्रह्मध्वज गुरुङ, डा. मीनाक्षी दाहाल, तेजबहादुर सुनार, तोयानाथ गौतम, विनोद तिमिल्सेना, डा. किरणकुमार जोशी, प्रेमराज न्यौपानेलगायतले आआफ्ना मन्तव्य र जिज्ञासा राख्नुभएको थियो ।

शब्द संयोजन : चेतनाथ कणेल “हरित”